काठमाडौं। चितवनमा सडक विस्तारका क्रममा निर्माणाधीन नालीमा पसेर गैंडा मरेको विषयमा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएकोमा लुम्बिनी निर्माण व्यवसायी संघले आपत्ति जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेपछि विज्ञप्ति जारी गरी संघले आपत्ति जनाएको हो।
महासंघले निकुञ्जको ऐन विपरीत हुने कुनै पनि कामकारबाही नभएको र निर्माण सम्झौता बमोजिम निर्माण कम्पनीले सम्पूर्ण सुरक्षाका मापदण्डहरु पूरा गरेको दाबी गरेको छ। संघले अनुसन्धानका नाममा निर्माण व्यवसायीप्रति गरिएको यस्तो व्यवहारले व्यवसायीको मनोबल गिराउने र निर्माण कार्य अगाडि बढाउन हतोत्साहित गर्ने काम भएको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘गैंडाको प्राकृतिक आवतजावतका क्रममा भएको दुखद निधनको तथ्यलाई तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानुन विपरीत हुने गरी अनुसन्धानका नाममा पक्राउ पूर्जी जारी गर्ने, दख हैरानी दिने कार्यले विभिन्न बाधा अड्चनका बाबजुत भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका व्यवसायीको मनोबल गिराउने र निर्माण कार्य अगाडि बढाउन हतोत्साहित गर्ने काम भएको महासंघको ठहर छ।’
प्राकृतिक रुपमा भएको घटनालाई नियोजित रुपमा निर्माण व्यवसायीमाथि झुठो आरोप लगाइएको संघको भनाइ छ। संघले इन्डो सगुनका सञ्चालक खड्कामाथि अघि बढाइएको अनुसन्धान तथा कारबाही प्रकृया समेत रोक्न माग गरेको छ।
