रुकुम पश्चिम। आठबीसकोट नगरपालिका–५ गोतामकोटमा पर्ने घट्टेखोलामा काठेपुल निर्माण गरिएको छ। आफ्ना स्वर्गीय हजुरबुवाको सम्झनामा स्थानीय भण्डारी गाउँका लालबहादुर भण्डारीले पुल निर्माण गरेका हुन्।
भण्डारीले आफ्नो स्वर्गीय हजुरबुवा प्रवीर भण्डारीको सम्झनामा घट्टेखोलामा काठेपुल बनाएका हुन् । घट्टेखोलामा बर्खाको समयमा स्थानीयलाई वारपार गर्न समस्या हुने भएकाले पुल बनाइएको भण्डारीले बताए ।
यसअघि बनाइएको लाप्को खोलाले बगाएपछि वारपार गर्न गाउँवासीलाई सास्ती भएको थियो । अब पुलसँगै बार समेत लगाइएकोले खोला वारपार गर्न सजिलो हुने स्थानीयको विश्वास छ ।
काठे पुल करिब एक लाख लगानीमा निर्माण भएको भण्डारीले बताए। लालबहादुरका हजुरबुवा प्रवीरको ८२ वर्षको उमेरमा २०७८ मंसिर २९ गते निधन भएको थियो ।