काठमाडौं। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको हुलाकी राजमार्गको ७२.४२ प्रतिशत भौतिक प्रगति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलको तथ्यांकअनुसार हालसम्म हुलाकी राजमार्गको ७२ दशमलव ४२ प्रतिशत भौतिक काम सम्पन्न भएको हो।
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिको यस भौतिक प्रगतिअनुसार राजमार्ग निर्माणले केही सकारात्मक प्रगति देखाए पनि तोकिएकै समयमा सम्पन्न हुनेमा भने आशंका उब्जिएको छ। तथ्यांकअनुसार वित्तीय प्रगति भने ७५ प्रतिशत अर्थात् ४८ अर्ब ९२ करोड खर्च भएको छ ।
कतिपय ठाउँमा वर्षौँदेखि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन। मन्त्रालयले १ हजार ७ सय ९२ किमी सडकमध्ये ७ सय ९५.२१ किलोमिटर कालोपत्रे सम्पन्न भएको जनाएको छ। बाँकी ५ सय ८१ किमी सडक निर्माणाधीन रहेको आयोजनाले जनाएको छ । कुल २ सय १९ पुल बन्नुपर्नेमा १ सय १ वटा पुल सम्पन्न भएका छन् ।
आर्थिक वर्ष २०६६/६७ मा सुरु भएको राजमार्ग निर्माण २०७९/८० मा सम्पन्न हुनुपर्नेछ । आयोजनाको अहिलेसम्मको समग्र प्रगतिले भने तोकिएकै समयमा सम्पन्न हुन नसक्ने देखिन थालेको छ ।