सल्यान। सल्यानको कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुर कोटको विमानस्थल निर्माण अझै शुरु भएको छैन। विमानस्थल निर्माणका लागि तीन पटकसम्म सर्भे भएको कालीमाटीमा निर्माण कार्य भने शुरु हुन नसकेको हो।
यहाँ विमानस्थल बनाउन २०१८, २०३५ र २०४८ सालमा सर्भे गरिएको थियो । २०१८ सालमा वन सहायकमन्त्री बनेका सल्यानका नेबबहादुर मल्लले विमानस्थल निर्माणका लागि पहल थालेका थिए । उनको पहलपछि विमानस्थल निर्माणका लागि तीन पटक सर्भे गरिएको हो ।
विमानस्थल बन्छ भनेर त्यसबेला खुसी भएका स्थानीयले आश मारिसके। पञ्चायतकालसम्म निर्वाचनमा भोट माग्न आउने नेताहरूले विमानस्थल निर्माणको कामलाई चुनावी एजेन्डा बनाउने गरेका थिए । अहिलेका नेताले भने विमानस्थल निर्माणको कुरा बिर्सिएको स्थानीयको आरोप छ।
पहिले मोटर बाटो नहुँदा सबैले विमानस्थल निर्माणमा चासो देखाए पनि अहिले सबै ठाउँमा सडक पुगेपछि विमानस्थल निर्माण गर्ने कुरा बिर्सिएको उनीहरुको गुनासो छ।
स्थानीय सरकारले सडक निर्माणलाई प्राथमिकता दिए पनि भरपर्दो र बाह्रै महिना गाडी चल्ने सडक बनाउन भने सकेका छैनन्। कसैले ध्यान नदिँदा स्थानीयले विमानस्थल बनाउन छनोटमा परेको जग्गाको आधाभन्दा बढी भाग अतिक्रमण भइसकेको स्थानीय बताउँछन्। स्थानीयका अनुसार विमानस्थल बनाउने जग्गाको केही भाग स्थानीय आधारभूत विद्यालय र एक निजी कम्पनीले ओगटेको छ ।