काठमाडौं। वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले आफ्ना सेवाग्राहीहरुका लागि सेवाको क्षमता बढाउँदै गएको छ। एयरलाइन्सले एक महिनाको अवधिमा दुई वटा जहाज थप गरेर क्षमता विस्तार गरेको हो।
श्रीले भर्खरै मात्र ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको छ ।यसको नयाँ जहाज शुक्रबार राति काठमाडौँ विमानस्थलमा अवतरण गरेको हो। क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन् । उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौँ आइपुगेको कम्पनीले जनाएको छ ।
योसँगै कम्पनीको उडान सेवामा आठ वटा जहाज भएका छन् । थपिएका जहाज मार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गरिने श्री एयरलाइन्सले जनाएको छ।