काठमाडौं। नौ वटा सिमेन्ट उद्योगविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको विषयमा नेपाल सिमेन्ट उत्पादक संघले आपत्ति जनाएको छ।
गैरकानुनी रुपमा चुनढुंगा खानी उत्खनन गरी राजस्व हिनामिना गरेको कसुरमा खानी तथा भूगर्भ विभागका महानिर्देशकसहित ९ जना कर्मचारी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकासहित ९ जना सिमेन्ट उद्योगी विरुद्ध मुद्दा दायर भएको विषयमा संघले आपत्ति जनाएको हो।
संघले विज्ञप्ति जारी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगीहरूलाई भ्रष्टाचार मुद्दा दायर गर्नु कानुन सम्मत नभएको बताएको छ। संघले खानी तथा भूगर्भ विभाग र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच थप जरिवाना लगाउने सम्बन्धमा भएको आन्तरिक छलफलको विषयमा उद्योगीहरूलाई कुनै जानकारी नभएको र संलग्न समेत नगराइएको उल्लेख गरेको छ।
विज्ञप्तिमा लेखिएको छ, ‘उद्योगहरुमाथि तथ्यहीन रुपमा ठूलो क्षति भयो भन्ने आरोप लगाउने किसिमको क्रियाकलापले ठूलो आघात पर्न जाने र समग्र उद्योग तथा नयाँ लगानीकर्तामा समेत नकारात्मक प्रभाव पर्न जाने छ ।कानून बमोजिम लाग्ने राजश्वररोयल्टी भुक्तानी गरी राष्ट्र पुनर्निर्माणको परिस्थितिमा उद्योगलाई आवश्यक कच्चापदार्थ बढी उत्खनन् गरेको कारणले मात्र निराधार रुपमा उद्योग र उद्योगीलाई हतोत्सायी गर्नेगरी भ्रष्टाचार जस्तो गम्भीर आरोप लगाइयो।’
आत्मनिर्भरउन्मुख सिमेन्ट उद्योगलाई व्यवसाय गर्न दूरुत्साहित गर्नेगरी भ्रष्टाचार मुद्दामा मुछिएको संघको आरोप छ। संघले उद्योगी व्यवसायीहरुले सबै काम कानुनसम्मत रुपमा गरेको भन्दै उनीहरुको बचाउ गरेको छ।