कपिलवस्तु। बेमौसमी वर्षाका कारण कपिलवस्तुमा तयारी अवस्थामा रहेको १० करोड मूल्य बराबरको काँचो इँटा नष्ट भएको छ।
माघ महिनामा दुईदुई पटक बेमौसमी वर्षा हुँदा झन्डै १० करोड बराबरका काँचो इँटा नोक्सानी हुँदा ३० करोडको क्षति भएको इँटा व्यवसायीको दाबी छ।
भट्टामा पकाउन तयारी अवस्थामा राखिएको काँचो इँटा एकाएकको वर्षाले नोक्सानी भएको व्यवसायीको गुनासो छ।
कपिलवस्तु जिल्लामा ७० बटा इँटा उद्योग दर्ता भई सञ्चालनमा रहेको जिल्ला घरेलु तथा साना उद्योग कार्यालयको तथ्यांकमा उल्लेख छ । वर्षाले गर्दा इँटा नोक्सानी भएपनि सरकारी निकायबाट कुनै चाँसो नदिएको कपिलवस्तु इँटा व्यवसायी संघले जनाएको छ। वर्षाले गर्दा इँटा भट्टामा काम गर्ने सयौं मजदुरको रोजिरोटी समेत प्रभावित बनेको छ ।
उता वर्षाले गर्दा रुपन्देही, नवलपरासी, अर्घाखाँची लगायत देशका विभिन्न स्थानका इँटा व्यवसायीका समेत करोडौं मूल्य बराबरका इँटा नोक्सानी हुँदा काँचो इँटाको अभावमा यस वर्ष समेत उपभोक्ताले महँगोमा इँटा खरिद गर्नुपर्ने बाध्यता हुने भएको बताइन्छ।