काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न निकाय, संघ–संस्था र कम्पनीसँग उठाउन बाँकी बक्यौता करिब दुई अर्ब रूपैयाँ पुगेको छ।
प्राधिकरणले प्रतिनिधि सभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई बुझाएको विवरणअनुसार स्वदेशी तथा विदेशी निकाय, संघसंस्थाले प्राधिकरणलाई १ अर्ब ८१ करोड ७५ लाख ८८ हजार ५ सय ७९ रुपैयाँ बुझाउन बाँकी रहेको हो।
उठाउन बाँकी रकममध्ये विगत लामो समयदेखि बन्द रहेका वायुसेवा कम्पनीहरुको बक्यौता रकम ठूलो छ। प्राधिकरणले बेलाबेला सूचना निकालेर रकम तिर्न भनेपनि ठोस कदम चाल्न सकेको छैन । जसका कारण बक्यौता रकम हरेक वर्ष थप हुने गरेको हो ।
समितिले प्राधिकरणलाई सो बक्यौता उठाउने कार्यायोजना बनाएर पेश गर्न प्राधिकरणलाई निर्देशन दिएको छ ।
समितिले कोभिड १९ को संकटका बेला भएको उद्धार उडानका दौरान विगतमा पर्यटन मन्त्रालयले बनाएको छानविन समितिको प्रतिवेदन संसदीय समितिमा पेश गर्न समेत प्राधिकरणलाई निर्देशन दिएको छ ।