काठमाडौं। नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले नेपालको विद्युतीय सवारी र जलस्रोतका क्षेत्रमा सहकार्य गर्ने इच्छा रहेको बताएकी छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भएको भेटवार्तामा राजदूत भोल्केले यस्तो इच्छा व्यक्त गरेकी हुन्।
राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अष्ट्रेलिया सरकारले निरन्तर सहयोग गर्ने विश्वास समेत दिलाएकी छन् । उनले जलस्रोत र नवीकरणीय ऊर्जा प्रवर्द्धनमा पनि सहयोग गर्न इच्छुक रहेको पनि बताइन् । उनले जल तथा ऊर्जा आयोगको सचिवालयसँग सहकार्य गरी कमला बेसिनमा काम गरिरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाएर अगाडि बढाइने बताइन्।
भेटका क्रममा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको बताउँदै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिइन् ।
उनले विश्वले सामना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलाभन्दा अझ बढी आवश्यक रहेको बताइन्।
नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेको भूमिकको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पुर्याएको सहयोगप्रति धन्यवाद समेत व्यक्त गरिन्।