काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता पारित गर्न ढिलाइ गर्न नहुने बताएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत एमसीसी सम्झौता संसदबाट सर्वसम्मतिले पारित गर्न आग्रह गरेका हुन्।
एमसीसीका नाममा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्न नहुनेसमेत उनको भनाइ छ। भट्टराईले लेखेका छन्, ‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऔं । यही बहानामा प्रतिगमन विरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस्।’
भट्टराईले एमसीसी पारित नभए देशमा थप आर्थिक संकट उत्पन्न हुने दाबी समेत गरेका छन् । उनले शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भन्दै सचेत पनि गराएका छन् ।