मनाङ। मनाङमा खोप नलगाएका आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला प्रवेशमा रोक लगाइएको छ।
जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले खोप कार्ड नभएका पर्यटकलाई जिल्ला प्रवेश गर्न रोक लगाउने निर्णय गरेको हो।
बैठकले सम्बन्धित स्थानीय तहमार्फत् मनाङ प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षणको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।
आइतबार मनाङ ङिस्याङ गाउँपालिकाको २४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई मनाङ प्रवेश गर्न नदिने भएको हो ।
मनाङमा कोरोनाको दोस्रो लहर शुरु भएयता २ सय २३ जना कोरोना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।