काठमाडौं। बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा ३ वटा रासायनिक मल कारखाना खोल्ने भएको छ । सोमबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले रासायनिक मल कारखाना खोल्नेबारे निर्णय गरेको हो।
थाइल्याण्डको एक कम्पनीसँग सहकार्य गरेर रासायनिक मल कारखाना खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय भएको बागमती प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले जानकारी दिए।
यस विषयमा कम्पनीसँग छलफल पनि भइरहेको बताउँदै मन्त्री खनालले त्यसका लागि नेपाल विद्युत् प्राधिकरणसँग पनि छलफल गर्ने जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गत सञ्चालन हुने बहुवर्षीय ठेक्काको पनि मापदण्ड तय गर्ने र प्रदेश किताबखाना सञ्चालनमा ल्याउने निर्णय समेत गरेको छ ।
बैठकले सामुदायिक विद्यालयमा अध्ययन गरेका सबै छात्रालाई स्नातकोत्तरको शिक्षा निःशुल्क गर्नेसमेत निर्णय गरेको बताइएको छ।