काठमाडौं। बागलुङको बलेवा विमानस्थलको धावनमार्ग अझै कालोपत्र हुन सकेको छैन। २०७७ फागुनमै हुनुपर्ने विमानस्थनको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको छ।
विसं २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरिसक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको थियो।
विमानस्थलको काम २०७८ माघ १५ सम्म अन्य पूर्वाधार निर्माण भए पनि धावनमार्ग कालोपत्र भने हुन नसकेको हो। कोरोना महामारी र वर्षाका कारण कालोपत्रको काम पटक–पटक प्रभावित बनेको भन्दै आगमी फागुनभित्रै काम सम्पन्न गरी हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ।
धावनमार्ग कटिङ, नाली तथा तारबार एक वर्ष पहिल्यै सकिएर धानवनमार्गको ग्राभेल समेत सम्पन्न भइसकेको छ। कोरोना महामारी र मौसमका कारण धावनमार्गको कालोपत्र गर्न समस्या भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक मीनराज ओझाले जानकारी दिए।
करीब २६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालनमा आएको थियो। नेपाल एयरलाइन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडानसमेत भरेका थिए तर अहिले विमानस्थल बन्द छ।