काठमाडौं। होटल याक एण्ड यती लिमिटेड सहित पाँच वटा होटललाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच होटललाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको हो।
मन्त्रालयले सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड र्याडिसन होटल, लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ र सेन्ट्रल मिडिया प्रालि काठमाडौँले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको वक्यौता होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाडौँले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड र्याडिसन होटल लाजिम्पाटले रु १८ करोड ७६ लाख, रक इन्टरनेशनल प्रालि काठमाडौँले ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्रालि काठमाडौँले २१ करोड ५५ लाख तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौँले १३ करोड ३९ लाख ५० हजार बुझाउन बाँकी रहेको छ ।
गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सातदिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले क्यासिनोले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो ।