काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदिप अधिकारी नियुक्त भएका छन्।सरकारको मन्त्रिपरिषदको बैठकले प्राधिकरणको महानिर्देशकमा प्रदिप अधिकारीलाई नियुक्त गरेको हो।
सरकारको निर्णयसँगै मंगलबार बसेको नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकले आगामी बिहीबारदेखि पदभार सम्हाल्ने गरी अधिकारीको नियुक्तिलाई स्वागत गरेको छ।
११ औं तहका अधिकारी राष्ट्रिय गौरव आयोजना निर्देशनालयका निर्देशकसमेत हुन्। सरकारले उनलाई आगामी चार वर्षका लागि प्राधिकरणको महानिर्देशका नियुक्त गर्ने निर्णय गरेको हो।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुन्जेलसम्मका लागि गत पुस २५ गते प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशक नियुक्त गरेको थियो।
यसअघि गत कात्तिक १० गते राजकुमार क्षेत्रीलाई सञ्चालक समितिले चार वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गरेको थियो। तर क्षेत्रीले उमेर हदका कारण गत पुस २३ गते मन्त्रालयबाट अनिवार्य अवकाशको पत्र पाएका थिए।