धनगढी। धनगढी विमानस्थलको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न सर्भेको काम अघि बढाइएको छ। सुदूरपश्चिम प्रदेशमा नियमित सञ्चालनमा रहेको धनगढी विमानस्थलको स्तरोन्नतिका कार्य अगाडि बढाइएको हो ।
नागरिक उड्डयन प्राधिकरण धनगढीका अनुसार डीपीआर तयार पार्ने जिम्मा रियलपाथ कन्सल्टेन्सीलाई दिइएको छ। यस कन्सल्टेन्सीका प्राविधिकले सर्भेको काम गरिरहेका छन् ।
सम्झौताअनुसार एक महिनाभित्र डीपीआर निर्माणको काम पूरा हुने बताइएको छ। अहिले टोलीले विमानस्थल विस्तार हुने क्षेत्रमा भौगोलिक अवस्था, भूवनोट, रुख, बोटबिरुवा, बनाउनु पर्ने संरचनालगायतका बारेमा अध्ययन गरिरहेको छ ।
धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको पहलमा गत पुसमा नागरिक उड्डयन प्राधिकरणले एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो।
प्राधिकरणले बजेट विनियोजन गरेपछि स्तरोन्नतिका प्रारम्भिक कार्य अगाडि बढेको हो । डीपीआर निर्माण भएलगत्तै क्षेत्रीय विमानस्थल बनाउनका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको प्रक्रिया पनि अगाडि बढाउने तयारी गरिएको छ ।