गोरखा। पालुङटार नगरपालिकामा खानेपानी आयोजनाको शिलान्यास गरिएको छ। बृहत पम्पिङ्ग खानेपानी आयोजनाको एक कार्यक्रमका बीच नगरप्रमुख दिपकबाबु कंडेलले शिलन्यास गरेका हुन्।
नगरपालिकाको समन्वयमा संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङ्गले ४१ करोड १६ लाख ९३ हजार ४ सय १७ रुपैया लगानीमा आयोजना निर्माण गर्न लागेको हो ।
वडा नम्बर १ देखि ६ सम्मका करिब २ हजार बढि घरपरिवारलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित आयोजना सुरु गरिएको प्रमुख कडेलले बताए।
वृहत पम्पिङ्ग खानेपानी आयोजनाभित्र चेपेखोला र मिर्दि खोलाको दोभानबाट लिगलिगकोट लिफ्टिङ्ग खानेपानी आयोजना, भुसुण्डे हिटिको धारा नजिकैबाट खुर्पाजुङ्ग लिफ्टिङ्ग खानेपानी आयोजना, मर्स्याङ्गदी नदिबाट देउकोट लिफ्टिङ्ग खानेपानी आयोजना रहेका छन् ।
विभिन्न स्थानमा गरेर करिब ५० वटा ट्यांकी निर्माण हुने आयोजनामा ९० प्रतिशत संघिय सरकारको लगानी रहेको छ । त्यस्तै आयोजना निर्माणमा ५८ लाख ५८ हजार रुपैयाँ पालुङ्गटार नगरपालिकाले लगानी गर्नेछ भने आयोजनामा ९ प्रतिशत उपभोक्ताको श्रमदान रहने उपभोक्ता समितिले जनाएको छ।