काठमाडौं। धरहरा उद्घाटन गरिएको नौ महिना पुगेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गरेको नौ महिना पुगेको हो।
उद्घाटनको नौ महिना पुगिसक्दा पनि धरहरा निर्माणको काम भने ६७ प्रतिशत मात्र पूरा भएको छ। मुख्य स्तम्भको फिनिसिङको काम नै बाँकी रहेको धरहराको ३३ प्रतिशत काम अझै बाँकी छ।
ट्रिपल बेसमेन्ट, तीन तलाको पार्किङ स्पेस, अगाडिपट्टिको भागमा हरियाली, उत्तरपट्टिको क्षेत्रमा म्युजियम बनाउने लगायत काम निकै भइरहेका छन्।
आउँदो चैत्र मसान्तसम्म म्याद रहेकोमा फिनिसिङ र ल्यान्डस्केपिङको काम गर्नका लागि थप समय आवश्यक परेकाले असार मसान्तसम्म म्याद थप्न अनुरोध गर्ने तयारी भएको समेत भइरहेको छ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवासका) का अनुसार धरहराको निर्माण सम्पन्न भएर सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने छ।