गुल्मी। गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ। विमानस्थलमा टर्मिनल भवन र धावन मार्ग कालोपत्रेको काम अबको एक सातामा पूरा हुने भएको हो।
विमानस्थलको धावन मार्ग र टर्मिनल भवनको काम सकिएपछि कार्यालय व्यवस्थापनको काम बाँकी रहने छ। हाल विमानस्थलबाट आगामी वैशाखदेखि नियमित उडान गर्ने गरी काम भइरहेको छ। प्राविधिक समस्या नआए विमानस्थलबाट वैशाखदेखि नै सञ्चालन गरिने स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।
विमानस्थलबाट टुइनेटर विमान उडान हुने भएकाले नियमित उडान हुने बताइएको छ । नियमित उडानका लागि विभिन्न एअरलाइन्स कम्पनीसँग छलफल भइरहेको बताइएको छ। विमानस्थलसम्म आउने मोटरबाटो स्तरोन्नती, कालोपत्रेलगायतका कामहरूमा पनि भइरहेका छन्।
रेसुङ्गा विमानस्थलमा २०७५ साल जेठ २७ गते परीक्षण उडान पनि गरिएको थियो । विमानस्थल निर्माणका लागि हालसम्म २४ करोड बढी रकम खर्च भएको बताइएको छ।