काठमाडौं। वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि लागू हुने गरी आन्तरिक हवाइ उडानको भाडादर वृद्धि गरेको छ। यसपटक नेपाल आयल निगमले हवाइ इन्धनमा प्रतिलिटर १० रुपियाँ मूल्य वृद्धि गरेको हो।
हवाइ इन्धनमा प्रतिलिटर दुई रुपियाँभन्दा बढीले मूल्य घटबढ भएको अनुपातका आधारमा भाडा समायोजन गर्न पाउने अधिकार संघलाई भएसँगै भाडादर १०५ रुपियाँदेखि ४४५ रुपियाँसम्म वृद्धि गरेको बताइएको छ।
वृद्धिभएसँगै भाडादर काठमाडौं–धनगढीको ४४५ रुपियाँ वृद्धि भएको छ भने सबैभन्दा कम काठमाडौं–भरतपुर १०५ रुपियाँ बढेको संघले जनाएको छ। काठमाडौंदेखि विराटनगर २४०, पोखरा १६०, नेपालगञ्ज ३२५, भद्रपुर ३०० र माउन्टेन फ्लाइटको ३४५ रुपियाँले भाडादर वृद्धि भएको छ।