काठमाडौं। नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले आफ्नो पहिलो प्राथमिकतामा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल रहेको बताएका छन्। महानिर्देशकको पदभार ग्रहणपछि महानिर्देशक अधिकारीले राष्ट्रिय गौरव आयोजना अन्तर्गतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई गति दिने आफ्नो मुख्य योजना रहेको बताएका हुन्।
उनले मुलुकको मध्य भागमा रहेको यो विमानस्थल विभिन्न प्रमुख सहरको पहुँचमा रहेका कारण अन्तर्राष्ट्रिय उडानका लागि अति उपयोगी हुने बताए।
अधिकारीले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता ९३ लाख रहेको छ। कोभिड–१९ नभएको भए यो विमानस्थल स्याचुरेशनमा गइसकेको हुन्थ्यो। अबको २० वर्षमा टिआइए स्याचुरेशन पछि पनि यात्रुको संख्या डेढ करोड पुग्नेछन्। १५ लाख पोखरा र ४३ लाख यात्रु भैरहवामा जालान्, टिआइए स्याचुरेशनमा भएको बेला बाँकी एक करोड यात्रु कहाँ जाने? यो ट्राफिकको हिसाबले पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको छ।’
निजगढ ठूला जहाजले जिरो भिजीविलिटीमा अवतरण गर्न सक्ने किसिमले संचालनमा ल्याइने उनले जानकारी दिए।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण लागत सहजै उठाउन गाह्रो हुने बताउँदै नन एरोनोटिकल विजनेशलाई प्राथमिकता दिन आवश्यक रहेको बताए। नयाँ विमानस्थल संचालनमा आएसँगै पुरानो विमानस्थलमा व्यवसायिक काम र लिजमा दिन सकिने मध्ये एउटा विकल्प कार्यन्वयनमा ल्याउन सकिने उनले बताए। मुलुकभर प्राधिकरणको नाममा रहेको जग्गामा नन एरोनोटीकल आम्दानी गर्न सकिने उनको भनाइ छ।