काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले यस वर्ष पाँच लाख पर्यटक ल्याउन सरकारका तर्फबाट पूर्ण सहयोग गर्ने बताएका छन्। सन् २०२२ मा देशमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न आफ्नो पूर्ण रुपमा सहयोग रहने बताएका हुन्।
मन्त्रालयमा शुक्रबार पर्यटन पुनरुत्थान समितिले आयोजना गरेको पहिलो बैठकले सन् २०२२ मा पाँच लाख र सन् २०२३ मा यो सङ्ख्यालाई दोब्बर गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । उक्त कार्यक्रममा मन्त्री आलेले कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न सरकारले प्राथमिकता दिने बताए ।
उनले भने, “कोरोनाले हाम्रो पर्यटन क्षेत्र पूर्णरूपमा धरासायी बनेको छ, पर्यटन प्रवर्द्धन तथा विकासका लागि के गर्नु पर्छ सरकार तयार छ ।”
कोरोनाका कारण थला परेको पर्यटन उद्योगलाई लयमा फर्काउनका लागि यही माघ २ गते उक्त समिति विधिवत्रूपमा गठन भएको थियो । गठन भएसँगै सो समितिले पहिलो पटक आफ्नो बैठक राखेको थियो । उक्त समितिको नेपालका पर्यटन क्षेत्रहरुलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा पनःस्थापित गराउने उद्देश्य रहेको समितिका संयोजक राजाराम गिरीले बताए ।