बझाङ। बझाङमा प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण विकास निमार्णका काम प्रभावित बनेका छन्। जिल्लामा सञ्चालित विकास आयोजनाको काम निरन्तरको हिमपातका कारण प्रभावित बनेको हो।
काम हुन नसक्दा स्थानीय तहमा आएको बजेट फ्रिज हुने चिन्ता बढ्दै गएको छ। स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानी लगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् । यसपालि माघको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिले जनाएको छ। राष्ट्रिय गौरवको योजना अन्तर्गत विभिन्न स्थानीय तहका काम अलपत्र परेका छन् ।
बझाङ जिल्लामा १२ ओटा स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहका काम रप्तारमा अगाडी बड्न नसकेको बताइएको छ।
अधिकांश स्थानीय तहमा भारी वर्षा र हिमपात चिसोका कारण काम गर्न समस्या भएको निर्माण कम्पनीहरुको भनाइ छ। शुरु भइ काम चलिरहेका अधिकांश आयोजनाहरुको काम यतिबेला ठप्प छ।
विकास आयोजनामा ढिलासुस्ती हुनुका साथै पूँजीगत बजेट परिचालनमा समस्या देखिएको छ । बझाङ जिल्लाका स्थानीय तहले कुनै पनि बजेट विनियोजन गरेका योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सकेका छैनन्। अधिकांश योजनाको सम्झौता मिति गएपछि करोडौ बजेट काम नभई फिर्ता हुन सक्ने जनप्रतिनिधिहरु स्यम बताउँछन्।