मकवानपुर। भारी हिमपात कारण अवरुद्ध रहेको त्रिभुवन राजपथ अझै सञ्चालनमा आउन सकेको छैन। मकवानपुरको उच्च पहाडी भूभाग सिमभन्ज्याङ र दामन क्षेत्रमा भारी हिमपात कारण अवरुद्ध राजपथ शनिबार साँझसम्म पनि सञ्चालनमा आएको छैन।
राजमार्ग सञ्चालनमा ल्याउन थाहा नगरपालिकाले डोजर प्रयोग गरेको छ भने प्रहरी पनि खटिएका छन् । डोजरले सडकमा जमेको हिउँ फाल्ने काम भइरहेको छ । प्रहरीले सावेलले सडकको हिउँ पन्छाइरहेका छन् । शनिबार साँझसम्म हिउँ पन्छाउँदा पनि अझै डेढ किलोमिटर सडकको हिउँ पन्छाउन बाँकी छ । आइतबार दिउँसोदेखि राजमार्ग सञ्चालनमा आउन सक्ने बताइएको छ।
बिहीबार राति वर्षासँगै भारी हिमपात भएकाले हेटौंडा–काठमाडौं जोड्ने पुरानो राजमार्ग त्रिभुवन राजपथअन्तर्गत सिमभन्ज्याङ र दामन क्षेत्रको सडकमा एक फिटभन्दा बढी हिउँ जमेको थियो।