काठमाडौं। रौतहटको फतुवा विजयपुर नगरपालिकामा शहीद मनरुप महतो स्मृति भवन तथा पार्क निर्माण भएको छ। नेकपा माओवादीको रौतहटको प्रथम सहिद महतोको नाउँले फतुवा विजयपुर ९ मा स्मृति भवन तथा वडा ११ भैंसहीमा स्मृति पार्क निर्माण गरिएको हो।
जनयुद्धको क्रममा फतुवा विजयपुर ११ भैंसहिका माओवादी कार्यकर्ता मनरुप महतो रौतहटका पहिलो शहीद हुन। महतोको मकवानपुर र सिन्धुलीको सिमानामा रहेको तोरीबारिमा २०५७ साल भदौ ५ गते आफैले बम बनाएर चेक गर्ने क्रममा दुर्घटनावश मृत्यु भएको बताइएको छ।
तराई मधेस सहिद स्मृति प्रतिष्ठानको लगानी तथा चन्दा सहयोगमा ३ कठा जग्गा खरिद गरेर २ करोड भन्दा बढीको लगानीमा भवन निर्माणको काम पूरा भैसकेको जनाइएको छ। स्मृति पार्कको द्रुतगतिमा निर्माण कार्य भइरहेको छ। जनयुद्ध दिवसको अवसरमा अगामी फागुन १ गते पूर्व मन्त्री तथा एमाले स्थायी कमिटी सदस्य प्रभु साहले स्मृति भवन र पार्कको उद्घाटन हुने निर्धारण गरिएको बताइएको छ।