काठमाडौं। जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन्। शनिवार विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएका हुन्।
धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण भएको नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ। हिउँ पञ्छाएपछि तारा र समिट एयरको एक एकवटा उडान भएको बताइएको छ। भारी हिमपातले बाग्लो गरी जमेको हिउँ जिल्ला बिपत व्यवस्थापन समितिको अगुवाईमा विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याए पछि ४ः३० मा जहाज बस्न सफल भएको थियो।
हिमपताले टिकट काटेका धेरै यात्रु नेपालगंज र जुम्लामा अलपत्र भएकाले जिल्लाको सवै निकाय लागेर विहानै देखी विमानस्थल सफाई गरिएको बताइएको छ। विमानस्थल सञ्चालनमा आएपछी अलपत्र यात्रुलाई सहज भएको र आकस्मिक सेवा सहज हुने भएको छ। जहाँज ३ दिनपछि संचालन भएपछि यात्रुहरुले खुशी व्यक्त गरेका छन्।