म्याग्दी। निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाको सुरूङ खन्न सुरू गरिएको छ। दरबाङको कमेरेमा अडिट नम्बर १ को सुरूङ आइतवारदेखि खन्न सुरू गरिएको हो।
नेपाली सेनाको निगरानी तथा व्यवस्थापनमा विष्फोटक पदार्थको प्रयोग गरी मुख्य सुरुङमा पुग्ने सहायक सुरूङ खन्न थालिएको निर्माण कम्पनी धौलागिरि हाइड्रो लिमिटिडले जनाएको छ। २५० मिटर अडिट खनेपछि मुख्य सुरुङमा जोडिने र बाँध तथा पावरहाउस दुवैतर्फ सुरुङ निर्माण सुरु हुनेछ।
अर्को महिनादेखि सुरुङ खन्ने काम राति र दिउँसो गरी दुई सिफ्टमा हुने आयोजनाले बताएको छ। उक्त आयोजना धौलागिरि कालिका हाइड्रो लिमिटेडले निर्माण गरेको हो। आयोजना निर्माणमा ५ अर्ब १५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको बताइएको छ।
मालिका गाउँपालिका–७ बिम र वडा नम्बर ५ देवीस्थान र धौलागिरि गाउँपालिका–७ को सीमा क्षेत्रमा रहेको फेदीमा बाँध रहने आयोजनाको साढे ५ किलोमिटर सुरुङ मार्ग रहनेछ। सुरुङमार्ग हुँदै ल्याइने पानीलाई १०० मिटर हेडबाट रातोढुंगामा निर्माण हुने विद्युत् गृहमा खसालिने आयोजनाले जनाएको छ।