काठमाडौं। प्रतिकुल मौसमका कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा लगातार उडान अवरुद्ध भएको छ। आज बिहानैदेखि बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकुल बनेपछि नेपाल वायु सेवा निगमको उडान अवरुद्ध भएको हो।
गएको शुक्रबारको उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो। आज मौसम नखुलेका कारण उडान रद्द भएको हो भने, गएको शुक्रबार विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध भएको थियो।
आजको उडान अवरुद्ध बनेपछि काठमाडौंका लागि टिकट गरेका १४ जना यात्रु रोकिएका छन्। काठमाडौंदेखि ताप्लेजुङ आउन लागेका १२ जना यात्रु पनि उतै रोकिएका बताइएको छ। हिउँद मौसमसँगै हिमपात हुन थालेपछि सुकेटार विमानस्थलमा पटक–पटक उडान अवरुद्ध हुँदै आएको छ।