काठमाडौं। साना बामपन्थी दलले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा आजदेखि देशभर आन्दोलन गर्ने भएका छन्। एमसीसीलाई प्रतिनिधिसभाबाट पारित गर्ने तयारी भएपछि साना बामपन्थी दलले मंगलबारबाट आन्दोलन शुरु गर्ने घोषणा गरेका हुन्।
उनीहरुले आज देशैभरी संयुक्त कोणसभा गर्न गर्ने छन् भने बुधवार काठमाडौं उपत्यकामा माइतीघरबाट जुलुससहित संसद भवन अगाडि बिरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेका छन् । बुधबार देशैभरी सदरमुकामहरुमा समेत संयुक्त बिरोध प्रदर्शन र सभा आयोजना गर्ने घोषणा गरेका छन्।
आन्दोलन गर्ने दलहरुमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजित बुढाथोकीको नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी रहेका छन्।
त्यसैगरी आन्दोलनमा मोहन बैद्य र मोहनविक्रम सिंहका पार्टीका मोर्चाहरु क्रमशः सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल र चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपाल पनि सहभागि हुने भएको छ।