काठमाडौं। हुम्लाको अन्तर जिल्ला जोड्ने हवाई सेवा पाँचौँ दिनपछि सञ्चालनमा आएको छ। सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको हो।
विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज सञ्चालनमा आएको हो।
पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्यसम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जनाएको छ।
हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत भएको छ। नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन्। पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्यवस्तुको अभाव भएको थियो भने हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारीलगायत भित्रिएको छ।