काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले रासायनिक मल कारखाना सञ्चालनका लागि सस्तोमा आवश्यक विद्युत उपलब्ध गराउने बताएकी छन्। मन्त्रालयमा भएको छलफलमा मन्त्री भुसालले ऊर्जाकै कारणले मल उत्पादनमा लागत महङ्गो हुने स्थिति आउन नदिने बताएकी हुन्।
उनले दीर्घकालीन एवं राष्ट्रको हितका लागि पनि जलविद्युतको प्रयोगबाट सम्पूर्ण उद्योग तथा कलकारखाना सञ्चालन हुनुपर्ने बताइन्। मन्त्री भुसालले भनिन्, ‘देशभित्र ऊर्जाका रुपमा जे खपत हुन्छ त्यो जलविद्युत्बाट उत्पादित ऊर्जा नै हुनुपर्छ ।हामी आवश्यकताअनुसारको विद्युत् उपलब्ध गराउन तयार छौँ, जलविद्युत् आयोजनाको सञ्चालन खर्च मात्र लिएर पनि विद्युत् दिन तयार छौँ । ऊर्जाकै कारणले महङ्गो हुने स्थिति आउँदैन त्यसका लागि ऊर्जा मन्त्रालय आश्वस्त पार्न चाहन्छ।’
लगानी बोर्डमार्फत लगानी गर्ने उद्योगी व्यवसायीले पनि नाफासँगै देशको माया गरेर विद्युतीय ऊर्जा खपतलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो ।डलरमा खरिद गरेर ल्याइएको ग्यासभन्दा देशभित्र उत्पादन भएको स्वदेशमै उत्पादन भएको ऊर्जा प्रयोग गर्नुपर्नेमा उनको जोड छ।
त्यस अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले खाद्य सुरक्षाका लागि पनि मल कारखाना स्थापना महत्वपूर्ण भएको र त्यसका लागि नेपालकै विद्युतीय ऊर्जा प्रयोग हुनुपर्ने बताए। उहाँले भने, “दूरगामी हिसाबले पनि जलविद्युत् नै प्रयोग गरेर मल उत्पादन गर्नुपर्छ, भविष्यका लागि पनि यो नै उपयुक्त हुन्छ ।”
नेपालमै मल कारखाना स्थापना गर्ने विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र लगानी बोर्डसहित सरोकार पक्षको सहभागिता थियो ।