काठमाडौं। गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइट फागुन ५ गतेदेखि हुने भएको छ। विमानस्थलमा जडान गरिएको उपकरण, लाइट, फ्रिक्वेन्सी लगायत परीक्षण गर्नका लागि गरिने क्यालिब्रेसन फ्लाइट फागुन ५ देखि गरिने भएको हो।
फ्लाइटका लागि फागुन ४ गते एरो थाइ कम्पनीले विशेष विमान लिएर आउने छ।
हाल कम्पनीले प्राधिकरणमा कार्यरत प्राविधिक जनशक्तिलाई तालिम दिइरहेको छ। क्यालिब्रेसन सकिएपछि नेपाल वायुसेवा निगमको एयरबस–३३० वाइडबडी जहाजमार्फत यो विमानस्थलमा परीक्षण अवतरण गरिने बताइएको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन विभाग लगायत विभिन्न निकाय तयारी अवस्थामा छन्।
यो परीक्षणसँगै विमानस्थलमा जडान गरिएको उपकरण सही अवस्थामा रहेकोरनरहेको पहिल्याउँदै उपकरण व्यवस्थापन गरिँदै लगिने छ।
यो विमानस्थलमा प्रयोग भएको उपकरण सबै एरो थाइले नै उपलब्ध र जडान गराएको हो। यो विमानस्थल संचालनका लागि नागरिक उड्डयन प्राधिकरणको संस्थागत संरचना तयार भइसकेको बताइएको छ।
विमानस्थल निर्माणको ९८ प्रतिशत काम सकिसकेको छ। विमानस्थल संचालनयोग्य भएसँगै प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई उडानका लागि ५६ दिने सूचना जारी गर्ने योजना रहेको बताइएको छ।