काठमाडौं। राष्ट्रियसभा सदस्य वामदेव गौतमले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता गर्न अमेरिकी सरकारलाई आग्रह गरेका छन्। गौतमले विज्ञप्ति जारी गर्दै विवादित परियोजनाले नेपालको हित नगर्ने भएकाले फिर्ता लैजान आग्रह गरेका हुन्।
उनले एमसीसी नेपालमा विवादित हुँदा जनमत पनि विभाजित हुन पुगेकाले संसदबाट पारित हुने स्थिति न्यून भएको उल्लेख गरेका छन्।
गौतमले नेपालको अहिलेको जटिल अवस्थामा बनेको सरकार र अहिलेको संसदले एमसीसी अनुमोदन गर्नसक्ने अवस्था नभएकोले एमसीसी परियोजना फिर्ता लैजान नेपाल सरकार र अमेरिकी सरकारलाई आग्रह गरेका हुन्।
उनले एमसीसी सम्झौता कार्यान्वयन गरिँदा नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको समेत बताएका छन्।