काठमाडौं। भिस्तारा एयरलाइन्सले आगामी फागुन ४ गतेदेखि काठमाडौं–नयाँदिल्ली उडान गर्ने भएको छ। कोरोना संक्रमणका कारण लागू गरिएको लकडाउनका कारण २०७६ चैत ११ गतेदेखि बन्द रहेको भिस्ताराले पुन: उडान शुरु गर्ने भएको हो।
भिस्ताराले आईतबार, बुधबार र शुक्रबार गरी फेब्रअरी महिनाभर सातामा ३ उडान गर्ने जनाएको छ । सुरुवाती अवस्था विचार गरेर मार्च महिनादेखि दैनिक उडान शुरु गर्ने कम्पनीले जनाएको छ।
अपरान्ह सवा ४ बजे काठमाडौं आइपुग्ने जहाज सवा ५ बजे पुन दिल्लीका लागि उडान गर्नेछ । भिस्तारामा भारतीय कङलोमोरेट समूह टाटा ग्रुप र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी रहेको छ ।
भिस्ताराले दुईतर्फ उडान भाडादर (काठमाडौं–नयाँदिल्ली, नयाँदिल्ली–काठमाडौं) २१ हजार ३९९ नेपाली रुपैयाँ तोकेको छ । एयरलाइन्सले सुरुवाती चरणका लागि इकोनोमी क्लासका लागि उक्त भाडादर तोकेको हो ।