रुपन्देही। बुटवल उपमहानगरपालिका शिवनगरमा एक मजदुर नेताको स्मृतिमा सालिकसहित पार्क निर्माण गरिएको छ। एउटा उद्योगमा श्रमिकका रूपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा उपमहानगरपालिकाले जेबी स्मृति पार्क निर्माण गरेको हो ।
पुनको अर्ध कदको सालिक मंगलबार साँझ एक समारोहबीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन्। उद्घाटनका क्रममा प्रमुख सुवेदीले उद्योगमा काम गर्दै जनवादी गीत संगीतमार्फत सचेतना फैलाउने सँगै राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा जनमत जुटाउने काममा पुनले महत्त्वपूर्ण योगदान गरेको बताए।
पूर्व पश्चिम राजमार्ग छेउमै उपमहानगर मातहत रहेको करिब दुई बिगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति पार्क निर्माण गरिएको छ। करिब ५० लाख बराबरको बजेटमा पार्क निर्माण र विस्तारका लागि योजनाबद्ध काम भइरहेको बताइएको छ।
०४३ सालमा म्यानेन्जाइटिस भएर पुनको निधन भएको थियो । त्यसअघि पुनकी पत्नीको सुत्केरी हुने क्रममा प्रसव पीडाकै बीचमा बच्चा जन्मन नसकेर निधन भएको थियो । पुनका भाईबुहारी र भतिजाभतिजी हाल पार्क रहेको स्थान नजिकै बस्दै अएका छन् । पुनका बाबु राजमार्ग निर्माणका क्रममा बागलुङबाट बुटवल आएका थिए ।