काठमाडौं। नागढुंगा सुरुङमार्ग निर्माणको काम हालसम्म ४३.३५ प्रतिशत पूरा भएको छ। अडिट र मुख्य गरी ५ हजार ४९९ मिटर सुरुङ खन्नुपर्नेमा हालसम्म २ हजार ३८४ मिटर खनिएको हो।
सुरुङ निर्माणको सम्पूर्ण काम आगामी साउन महिनासम्म सक्ने लक्ष्यका साथ काम भइरहेको छ। आयोजना कार्यालयले मुख्य सुरुङ २०७९ साउनसम्ममा छेडिने (ब्रेक थ्रू) जानकारी दिएको छ।
त्यसअघि ०७८ वैशाखभित्रमा अडिट टनेलहरू निर्माण सक्ने कार्ययोजना रहेको छ । यसअघि चैतमा अडिट टनेल सक्ने कार्ययोजना भए पनि दशैंमा घर गएका कामदार काममा नफर्किएका र पछिल्लो समय कोभिडले एक सय ३१ कामदार सक्रमण भएपछि ढिलाइ भएको आयोजनाले जनाएको छ।
आयोजनाको समग्र भौतिक प्रगति भने ३० प्रतिशत पुगेको छ । आयोजनामा मुख्य सुरुङको लम्बाइ २ हजार ६८८ मिटर रहेको छ । त्यसमध्ये अहिलेसम्म ८७५ मिटर सम्पन्न भएको छ । इभ्याकुएसन सुरुङ १ हजार ३४०, वर्किङ अडिट १२६ र क्रस प्यासेज ४३ मिटर सम्पन्न भइसकेको छ । कुल इभ्याकुएसन, वर्किङ र क्रस प्याकेज क्रमशः २ हजार ५५७ मिटर, १२६ मिटर र १२८ मिटर रहेको छ । खनिएको कुल लम्बाइमध्ये काठमाडौंतर्फ १ हजार २४३ मिटर र धादिङतर्फ १ हजार १४१ मिटर सम्पन्न भएको छ ।