इलाम। फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा गरिएको परीक्षण उडान सफल भएको छ। नेपाल वायुसेवा निगमको विमानले बुधबार गरेको परीक्षण उडान सफल भएको हो।
नेपाल वायु सेवा निगमको ९ एन–एबीटी विमान बिहान ९ बजेर ७ मिनेटमा काठमाडौंबाट उडेर १० बजेर ४ मिनेटमा अवतरण भएको हो। विमानमा प्रमुख क्याप्टेन पेम्बा शेर्पा, क्याप्टेन रक्षित मल्लसहित नागरिक उड्यान प्राधिकरणका कर्मचारी गरी ११ जना सवार थिए। विमान करिब आधा घण्टा यहाँ बसेको थियो। उडान परीक्षणपछि विमानस्थल विमान उडाउन योग्य भएको भए पनि अन्य संरचना बनउन बाँकी रहेको बताइएको छ।
विमानस्थल कालोपत्र गरिनुअघि २०७५ जेठ २१ गते परीक्षण उडान गरिएको थियो। कालोपत्र भएपछि भने यहाँ परीक्षण उडान भएको थिएन।
विमानस्थलको आगामी फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । विमानस्थलबाट फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी छ।