ताप्लेजुङ। जिल्लामा भारी हिमपात र प्रतिकूल मौसमका कारण एक सातादेखि हवाइ उडान अवरुद्ध भएको छ। जिल्लाको सुकेटार विमानस्थलमा एक सातादेखि उडान अवरुद्ध भएको हो।
विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै उडान निरन्तर अवरुद्ध भइरहेको छ। बुधबार पनि मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगम ताप्लेजुङले जनाएको छ। गत शुक्रबार र सोमबार विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध बनेको थियो ।
बुधबार पनि उडान अवरुद्ध भएपछि काठमाडौंका लागि टिकट लिएका १४ जना यात्रु रोकिएका थिए। सुकेटारमा हिमपातसँगै प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा पटक–पटक उडान अवरुद्ध हुँदै आएको नेपाल वायु सेवा निगम ताप्लेजुङले जनाएको छ ।
निगमले सुकेटर विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार उडान सञ्चालन गर्दै आएको छ ।