काठमाडौं। अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) आगामी फेब्रुअरी २८ सम्म पास नभए फिर्ता हुने भएको छ। फेब्रुअरी २८ सम्म नेपालको संसदबाट पास नभए फिर्ता हुने सन्देश एमसीसीले दिएको हो।
बुधबार साँझ भएको भर्चुअल अन्तर्क्रियामा एमसीसीकी उपाध्यक्ष फतिमा सुमारले फेब्रुअरी २८ पछि म्याद थप नहुने बताएकी हुन्। उनले नेपालमा एमसीसी कार्यान्वयन लागि आगामी तीन हप्ता निकै महत्वपूर्ण रहेको बताएकी छन्।
फेब्रअरी अन्तिमको समय सीमा नेपाल सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफैं तोकेको हुनाले फेरि समय थप्न नसक्ने उनले प्रष्ट पारिन ।
सुमारले फेब्रुअरी २८ को समय सीमा एमसीसी सम्झौता संसदमा टेबल गर्न वा छलफल गर्नलाई नभई पास गर्नलाई भएको दाबी गरेकी छन् । हरेक समय सीमा र सम्झौताको अर्थ हुने जिकिर गर्दै उनले अब अर्को बहाना स्वीकार्न नसकिने स्पष्ट पारिन्।
गत सेप्टेम्बरमा नेपाल आएकी सुमारले अझै पनि एमसीसी पास हुनेमा आफू आशावादी रहेको बताएकी छन्।