काठमाडौं। सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ’ ले ठेक्का पाएको छ। बुटवल–नारायणगढ सडक बिस्तारको काम गरिरहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले नै सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेक्का पाएको हो।
सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि गत जेठ ९ गते ग्लोबल टेण्डर आह्वान भएको थियो। ठेक्कामा चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ कबोल गरेको छ। यो प्राविधिक रुपमा पास भएर आर्थिक प्रतिस्पर्धा गरेका चार कम्पनीमध्ये सबैभन्दा कम रकमको कबोल अंक भएकाले कम्पनी छनोट भएको हो।
यो कम्पनीले निर्माण गरिरहेको बुटवल–नारायणगढ सडक बिस्तारको काम भने निकै सुस्त छ । त्यसैले सिद्धबाबा सुरुङ मार्गमा पनि यस्तै ढिलासुस्ती हुने आशंका सरोकारवालाहरुले गरेका छन्। यो कम्पनीले काठमाडौं–तराई मधेश द्रुतमार्गमा बन्ने सुरुङमार्गको पहिलो प्याकेजको कामको पनि जिम्मा पाएको छ ।
सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन ईपीसी मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्छ । तर, अझै सडक विभागले ठेक्का स्वीकृत गर्ने आशयपत्र जारी गर्न भने बाँकी छ ।