चितवन। चितवनमा गैंडा खाल्डोमा परेर मर्नुमा सडक कार्यालय र निर्माण व्यवसायी जिम्मेवार रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ। वन तथा वातावरण मन्त्रालयद्वारा गठित छानबिन समितिले सडक कार्यालय र निर्माण व्यवसायीले लापरबाही गरेका कारण खाल्डोमा पसेर गैंडाको मृत्यु भएको निष्कर्ष निकालेको हो।
सडक डिभिजन कार्यालय भरतपुरले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) विनै निर्माणको काम अगाडि बढाएको र इन्डो सगुन जेभीले निर्माणका क्रममा खनेको खाल्टो नपुरेर छाडेका कारण गैंडाको मृत्यु हुन पुगेको समितिको ठहर छ।
छानबिन समितिले वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलाई बुझाएको प्रतिवेदनमा चितवन राष्ट्रिय निकुञ्जले पनि आफ्नो क्षेत्रमा भइरहेका गतिविधिको अनुगमन निरीक्षण गर्नुपर्ने औँल्याइएको छ ।
चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा सडक विस्तारका क्रममा बनाइएको नालीमा फसेर ९ माघमा दुर्लभ एकसिंगे गैँडा मरेको थियो । गैंडाको मृत्यु भएपछि वनमन्त्री यादवले ११ माघमा वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए ।