पर्वत। पर्वत जिल्लाको जलजला गाउँपालिका–९ बनौमा बौद्ध बिहार निर्माण गर्न शुरु गरिएको छ। बौद्ध बिहारको बिहीबार गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले शिलान्यास गरेका हुन्।
सरकारी निकाय र दाताहरूबाट सहयोग जुटाएर करिब एक करोडको लागतमा बिहार निर्माण गर्न लागिएको हो। बिहार निर्माणमा गण्डकी प्रदेश सरकारबाट पाँच लाख, कोरिया समूहबाट रु ५७ हजार, डबबहादुर गर्बुजाबाट रु ५० हजार, स्थानीय पूर्णबहादुर पाइजाबाट रु ३५ हजार, प्रेमबहादुर पुर्जाबाट रु ३० हजार, भुवनसिंह पुनबाट रु २५ हजारलगायतबाट सहयोग प्राप्त भएको छ। भवन आगामी दुई वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ।
शिलान्यासका क्रममा मन्त्री बरालले जसको नीति उसैको नेतृत्व भएमा मात्र समृद्धि हासिल गर्न सकिने बताए। उनले भने, ‘परिवर्तनको अगुवाइ माओवादी पार्टीले नै गरेको हो तर कसैकसैलाई यो तितो सत्य पच्दैन, यो कुरा साँचो हो। अब सवै तहमा समृद्धिको नेतृत्व पनि माओवादी पार्टीले नै लिनुपर्ने हुन्छ ।’
नीति एउटाको, नेतृत्व अर्काको भएका कारण तालमेल मिल्न नसकेको उनले बताए। समृद्धिको नेतृत्व वडा, पालिका तथा प्रदेश र सङ्घ सबै तहमा नीतिअनुसार नेतृत्व गर्नुपर्ने त्यसो हुँदा गरिबी अन्त्य गरी देशमा समृद्धि हुने मन्त्री बरालले बताए।