काठमाडौं। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालमा एमसीसी पास नभए नेपाल–अमेरिकाबीचको सम्बन्धमा प्रश्न उठने बताएका छन्।
बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टाछुट्टै फोन गरी लुले यस्तो बताएका हुन्।
कुराकानीमा लुले एमसीसी पारित नभए त्यसलाई चीनको हस्तक्षेपको रुपमा लिने र त्यसबाट नेपाल–अमेरिकाबीचको सम्बन्धमै प्रश्न उठ्नसक्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्री देउवासँग भएको टेलिफोन कुराकानीमा सहायक मन्त्री लुले देउवा र दाहालले जनाएको लिखित प्रतिबद्धता स्मरण गराए। उनले फेब्रुअरी अन्तसम्म संसदबाट एमसीसी पारित हुनुपर्ने नभए फिर्ता जाने बताए। जवाफमा प्रधानमन्त्री देउवाले आफ्नो दल नेपाली कांग्रेस एमसीसी पारित गर्न प्रतिबद्ध रहेको दोहोर्याएको बताइएको छ।
लुले ओली र दाहाललाई पनि टेलिफोन गरेर एमसीसी पारित गरेर दुई देशबीच भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन्।
जवाफमा ओलीले अहिले आफूहरु सरकारमा नरहेकोले कुनै जिम्मेवारीमा पनि नरहेको बताए भने अध्यक्ष दाहालले एमसीसीलाई चीनसँग जोड्न नहुने बताए। उनले एमसीसीबारे अब चुनावपछि मात्रै निर्णय गर्नुपर्ने समेत बताएको बुझिएको छ।