कास्की। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन ३२ मेगावाटको करुवा सेती जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकलतर्फको ठेक्का फ्लोभेल इनर्जी प्रालिले पाएको छ । जलविद्युत आयोजनामा विद्युतगृहको उपकरण आयात तथा जडान कार्यको ठेक्का फ्लोभेलले पाएको हो।
फ्लोभेल र आयोजनाको प्रवद्र्धक झ्यामोलोङ्मा हाइड्रो पावर कम्पनीबीच ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । फ्लोभेलले नेपालमा इलेक्ट्रोमेकानिकल उपकरण आयात तथा जडानका लागि ठेक्का सम्झौता गरेको करुवा सेती ११औं जलविद्युत आयोजना हो ।
फ्लोभेलले यो आयोजनामा होरिजेन्टल फ्रान्सिस टर्बाइन तथा अन्य उपकरण आयात गरी जडान गर्नेछ । ३२ मेगावाट विद्युत उत्पादन गर्न विद्युतगृहमा १०.६६७ मेगावाटका ३ वटा उत्पादन युनिट रहनेछन् । यो आयोजनाको सिभिलतर्फ ४० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ ।
औद्योगिक घराना केसी समूहले यो आयोजना निर्माण गरिरहेको छ। यो आयोजनाबाट २०८० साल चैतभित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ ।