काठमाडौं। पर्यटन प्रवर्द्धनका लागि खप्तड बडिमालिका हेली टूर आयोजना गरिने भएको छ । विश्वभर फैलिरहेको कोभिडका कारण अस्तव्यस्त भएको पर्यटकीय क्षेत्र पूर्ण चलायमान बनाउने उद्देश्यले नाट्टा सुदूरपश्चिम र माउन्टेन हेलिकप्टर प्रालिको पहलमा हेली टूर आयोजना गरिने भएको हो।
हेली टूर फागुन १ देखि १० गतेसम्म सञ्चालन हुने छ । फागुन १ देखि १० सम्म शुरु हुने पर्यटकीय भ्रमणले सुस्ताएको पर्यटन क्षेत्रलाई पूर्ण चलायमान बनाउन सहयोग पुग्ने विश्वास राखिएको छ।
दश दिनको अवधिमा कम्तिमा पनि ३५० जना आन्तरिक पर्यटनलाई खप्तड र बडिमालिका भ्रमण गराउने लक्ष्य सुदूरपश्चिम प्रदेशले लिएको छ ।
विगत २ वर्षदेखि कोभिडका कारण ठप्प भएको पर्यटन क्षेत्र पुन चलायमान बनाउने उद्देश्यले ‘सुदूरपश्चिमको आवाज, पर्यटनको विकास’ मूल नारासहित हेली टूर आयोजना गरिने भएको हो । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य खप्तड बडिमालिका लगायतका स्थानमा छपक्कै हिउँले ढाकेको छ । त्यही सेताम्य र मनमोहक दृश्य अवलोकन गर्ने चाहना भएका पर्यटकहरुका लागि हेलि टुरको आयोजना गरिएको माउन्टेन हेलिकप्टर प्रालिले जनाएको छ।
हिउँको मौसम भएको हुँदा आन्तरिक पर्यटकहरुलाई खप्तड र बडिमालिकाको दर्शन तथा हिउँसँग स्पर्स गराउने उद्देश्यले हेली टूर आयोजना गरिएको हो । उक्त पर्यटकीय स्थलमा पर्यटनका लागि होमस्टे स्थापना गर्न र व्यवसायीहरुलाई व्यवसाय चलाउन दिन व्यवसायीहरुले पर्यटन बोर्डलाई अनुरोध गरेका छन् ।