तनहुँ। महर्षि वेदव्यासको जन्मभूमि दमौलीमा १०८ फिटको मूर्ति निर्माण हुने भएको छ। १०८ फिटको व्यासमूर्ति निर्माणका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको हो।
व्यास नगरपालिका–३ स्थित व्यासगुफा क्षेत्रमा मूर्ति निर्माणका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको व्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए। हाल मूर्ति अड्याउने स्तम्भ निर्माणको काम चलिरहेको छ। आगामी जेठ ३० भित्र मूर्ति अड्याउने स्तम्भ निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
व्यासमूर्ति निर्माणका लागि ७१ करोड २ लाख रकम आवश्यक पर्ने अनुमान गरिएको छ। पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माण गरिनेछ। यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समपूरक अनुदान रु ३ करोड ८० लाख १४ हजार ५३३ रहेको छ भने व्यास नगरपालिकाले रु दुई करोड चार लाख ६९ हजार ४१९ लागत साझेदारी गरेको छ।
विसं २०७८ जेठ ३० गते सम्झौता भएर शुरु भएको स्तम्भ निर्माणको काम विसं २०७९ जेठ ३० गतेभित्र सम्पन्न गर्ने गरी श्री गौरी पार्वती देव एन्ड सयरऋषिशक्ति जेभीसँग सम्झौता भएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ।