तनहुँ। बन्दीपुर गाउँपालिका–३ रामकोटमा सामुदायिक घरबास सञ्चालनमा ल्याइएको छ। मगर समुदायको बाहुल्य रहेको रामकोट क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्यले घरबास सञ्चालनमा ल्याइएको हो ।
यस क्षेत्रमा करिब १०० घरधुरी मगर जातिको बसोबास रहेकोमा पहिलो चरणमा करिब ३० घरधुरीमा घरबासको व्यवस्था मिलाइएको छ। घरबासमा अहिले कम्तीमा ४५ जनासम्म पाहुना राख्न सक्ने क्षमताको रहेको र विस्तारै क्षमता वृद्धि गर्दै लैजाने योजना रहेको घरबास सञ्चालक समिति अध्यक्ष बिहीसरा आले थापाले जानकारी दिइन् ।
घरबास प्रवर्द्धनका लागि गण्डकी प्रदेश सरकारबाट प्राप्त २० लाखमध्ये अव्यवस्थित बाटोलाई व्यवस्थित गर्ने काम गरिएको छ । घरबासमा स्थानीयस्तरमा उत्पादित वस्तुलाई प्राथमिकता दिइने बताइएको छ । स्थानीयस्तरमा उत्पादित साग, गुन्द्रुक, मकै, बाराका साथै घरबासमा आउने पाहुनलाई मगर समुदायको कलासंस्कृति प्रदर्शन गरी भरपुर मनोरञ्जन प्रदान गर्ने लक्ष्य रहेको घरबास सञ्चालक बताउँछन् ।
स्थानीयवासीलाई आर्थिक क्षेत्रमा सबल बनाउने उद्देश्यले पशुपालन र तरकारीखेतीलाई बढावा दिने योजना बनाइएको छ । घरबासमा प्याकेजमा खाजा, खाना, बास बस्न र बिहानको खाजासहित एक हजार शुल्क तय गरिएको घरबास सञ्चालक समिति सचिव कृष्णमाया थापाले बताइन् ।