काठमाडौं। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नारायणगढ–बुटवल सडकको दुवै प्याकेजमा गलत आंकडा पेस गर्ने पदाधिकारीमाथि छानबिन गर्न निर्देशन दिएको छ। समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पदाधिकारीमाथि छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो।
नारायणगढ–बुटवल सडक र मदन भण्डारी राजमार्गको वर्तमान अवस्थाबारे शुक्रबार आयोजित छलफलका क्रममा स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख भएभन्दा क्रमश ५ सय ७६ प्रतिशत र ४ सय ४० प्रतिशत रुखहरु काटिनु परेकोले आयोजनाको काममा ढिलाई भएको भन्ने तथ्य पेस गरिएको छ । उक्त अवस्थामा आयोजनाको काम प्रभावित हुने भनेर गलत आंकडा पेस गर्ने र यो कार्यलाई स्वीकृत गर्ने जिम्मेवार पदाधिकारीमाथि छानबिन गर्न समितिले निर्देशन दिएको हो ।
समिति सभापति कल्याणीकुमारी खड्काले देशको दुरगामी महत्व राख्ने राष्ट्रिय गौरवका आयोजना तथा राष्ट्रियस्तरका आयोजनाहरु निर्धारित समयमा सम्पन्न गर्न समयमै भुक्तानी नहुने समस्या रहेको बताइन् ।