काठमाण्डौं। बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र सुरु भएको छ। लामो समयको कोरोना सकस र मौसमी प्रतिकूलका बीच कालोपत्रको काम शुक्रबारदेखि सुरु भएको हो।
विसं २०७७ फागुनमै कालोपत्र गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको थियो। गत असारमै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुईपटक म्याद थपिसकेको छ।
विसं २०७७ फागुनभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो। विमानस्थलको सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न भएको र फागुन १५ भित्रै धावनमार्ग कालोपत्रको काम सम्पन्न भइसक्ने निर्माण कम्पनीले बताएको छ।
आगामी फागुनभित्रै विमानस्थको कालोपत्रको काम सम्पन्न भएर हस्तान्तरण गरिने छ, कोरोना र पानी परेर सडक बन्द हुँदा कालोपत्रमा ढिलाइ भएको हो, अब गर्मीसमेत लाग्न थालेको छ, १५ दिनमै विमानस्थल तयार गर्ने योजनामा रहेको निर्माण कप्पनीको भनाई छ।
विमानस्थलको जम्मा १५ प्रतिशतमात्रै काम बाँकी छ। कालोपत्र निर्माणसँगै विमानस्थलको काम सम्पन्न हुनेछ। उक्त विमानस्थलबाट हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने बताइएको छ।