काठमाडौं। सर्लाहीको बागमती नगरपालिकाले फनपार्क निर्माणको काम सुरु गरेको छ। दक्षिण एशियाकै ठूलो मानव निर्मित तालको निर्माण गर्दै गरेको नगरपालिकाले बगैँचा पनि निर्माण गरिरहेको हो।
वडा नं ११ स्थित पूर्व–पश्चिम लोकमार्गबाट फनपार्कसम्म पुग्ने सडकको पनि व्यवस्थापन भइसकेको बताइएको छ। चालू आर्थिक वर्ष २०७८/७९ मा सडक पनि पूर्णरुपमा निर्माण गरिसक्ने लक्ष्यका साथ काम भइरहेको जनाइएको छ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सुव्यवस्थित फनपार्कको निर्माणको काम सुरु गरिएको नगरपालिकाले जनाएको छ। चुरे पहाडको फेंदी र बागमती नदीको किनारमा व्यवस्थित फनपार्कको निर्माण सुरु भएसँगै व्यवसायीको नजर पनि सो फनपार्क निर्माणस्थलतर्फ पुगेको छ।
बागमती नदीको किनारमा शान्त ठाउँमा फनपार्कको निर्माण भइरहेकाले वर्षेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक आउने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ।
फनपार्क निर्माणपछि हजारौंले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने विश्वास गरिएको छ। फनपार्कबाट भरत तालसम्म केबलकार चलाउने र फनपार्कभन्दामाथि चुरेको डाँडामा गौतमबुद्धको प्रतिमा राखिने जस्ता ठूला योजना पनि फनपार्कसँग जोडिएको बताइएको छ।